header 2

साथीको हत्यागरि कालीगण्डकीमा फाल्ने आरोपित दिल्लीबाट पक्राउ

Sagar Adhikari
साथीको हत्यागरि कालीगण्डकीमा फाल्ने आरोपित दिल्लीबाट पक्राउ
Sagar Adhikari

घाइते सहचालकलाई कालीगण्डकीमा फालेर हत्या गरेको घटनाका आरोपित भारतको नयाँदिल्लीबाट पक्राउ परेका छन् । साथीको हत्याका आरोपित गल्याङ–८ बंग्रान्तीका २७ वर्षीय अमित परियार श्रीमती र छोरीसहित भारत पुगेका थिए । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेल र प्रहरी जवान गमबहादुर क्षेत्री उनको पिछा गर्दै दिल्लीसम्म पुगेका थिए ।

सुराकीका आधारमा अमितलाई शुक्रबार दिल्लीको अशोक विहारबाट पक्राउ गरेको हो । त्यहाँबाट पनि परिवारसहित अन्यत्रै भाग्न तयारी रहेको अवस्थामा पक्रिएको प्रहरी निरीक्षक पौडेलले बताए ।

परियारविरुद्ध सोमबार जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । गल्याङ–९ पारीचौरस्थित बेलचौर–साँखर कच्ची सडकमा चैत ५ गते साँझ ढुंगा लिएर आएको ट्र्याक्टरबाट खसेर गल्याङ–८ का १९ वर्षीय सहचालक गणेश गाहा घाइते भएका थिए । परियारले चलाएको ट्र्याक्टरमा अर्का सहचालक २१ वर्षीय सुनील राना पनि थिए ।

घाइते गाहालाई परियार र रानाले कालीगण्डकी नदीमा लगेर फालिदिएका थिए । प्रहरीका अनुसार एकै ठाउँका मिल्ने साथी उनीहरूले घटनाका दिन मदिरा सेवन गरेका थिए । गाहा घाइते भएको थाहा भए आफूहरू जेल जानुपर्ने डरले कालीगण्डकीमा लगेर फालिदिएको प्रहरी अनुसन्धानले देखाएको छ । ‘उपचार पाएको भए गाहाको मृत्यु हुने थिएन,’ एसपी होबिन्द्र बोगटीले भने, ‘उपचारका क्रममा मृत्यु भयो भने जेल जानुपर्छ । अहिले नै बगाइदिए कसैलाई थाहा हुँदैन भनेर नदीमा फालेका रहेछन् ।’

घटनाको भोलिपल्ट गाहाको शव कालीगण्डकी किनारमा भेटिएको थियो । कालीगण्डकीको घाट साँखरस्थित ढुंगा लोड गरी आउने क्रममा गाहा ट्र्याक्टरबाट खसेका थिए । राना र परियारले पुनः बाटो मोडेर नदीमा लगेर फालेको प्रहरीले जनाएको छ । घटनापछि परियार सपरिवार बेपत्ता भएका थिए भने सहचालक राना तानसेनस्थित दिदीको घर पुगेका थिए । घटनाबारे बताएपछि दिदीले भाइलाई प्रहरीमा आत्मसमर्पण गर्न लगाएकी हुन् । रानालाई पाल्पा प्रहरीले नियन्त्रणमा लिएपछि घटनाबारे खुलेको हो । परियार र रानाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया