header 2
Sagar Adhikari
खोकिलामा अजिंगर
Sagar Adhikari

‘के छ हालखबर ?’ परैबाट कसैको आवाज आयो। आफ्ना कमजोर आँखाका कारण मैले तिनको अनुहार ठम्याउन नसके पनि त्यो आवाजले ठम्याइहालेँ, मेरा एक परममित्र थिए ती। म सहजतापूर्वक मुस्काएँ।

एकदमै नजिक आइपुगिसकेका थिए उनी। भेट भएका बखत उनले देखाउने चरित्रमुताबिक चिरपरिचित मुस्कानका साथ मलाई झन्डै–झन्डै अँगालो हाल्दै उनी अलिक ठूलो स्वरले बोले– ‘हैन, के छ हो हालखबर मित्र ?’

‘ठीक छ।’ रेडिमेड, छोटो जवाफ फर्काउँदै म अलिक पछि सरें। भौतिक दूरीको नियम पालना जो गर्नु थियो। तर मित्रले मलाई छाडेनन्, ‘अनि मित्र, नयाँ–नौलो के छ ?’ भन्दै मेरो दाहिने हात आफैंले तानेर आफ्नो हात मिलाए र पुनः बोले। च्वास्स... ! उनले हात मिलाउनासाथ मलाई हत्केलामा अचानक बिझायो। मैले आफ्नो हत्केलामा नियालें। त्यहाँ केही थिएन। पुलुक्क उनको अनुहार हेरें। अहँ, कुनै प्रतिक्रिया देखिएन।

उनी उत्तिकै मुस्कुराइरहेकै थिए। उस्तै नयाँ मान्छे उनका अघि परे भने उनको मुस्कानमा लोभिएर टोलाएको टोलायै हुन्छ। बोल्न थालेपछि उनीबाट मान्छे यति प्रभावित हुन्छ कि उनलाई बारम्बार सुनिराख्न लालायित भइरहन्छन्। उनको कुरा गराइमा खुबै आकर्षक शैली हुन्छ, अगाडिकालाई मक्ख पारिरहन्छन्। शब्द शृंगार गर्नमा कसले भेटोस् उनलाई ? मह घोली–घोलीकन, पोलिस गरी–गरीकन शब्दमा के–के मात्रै अलंकार प्रयोग गर्दैनन् ?

त्यसो त लेखनमा पनि माहिर छन् उनी। महान्–महान् उक्तिहरूको भरमार प्रयोग गरेर लेखहरू लेख्छन्। मैले अखबारहरूमा उनका त्यस्ता लेखहरू छापिएको प्रायः पढ्ने गरेको छु।

‘मित्र, अनि के–कसो हुँदै छ ?..., फोन केका लागि हो ? उठाउनु पनि हुन्न...।’ प्रत्येक भेटघाटमा बोलिने भाषा प्रयोग गर्दै अहिले पनि खोजीनीति सुरु गरिहाले– ‘के–के उत्पात मच्चाउन लाग्नु’भा छ कुन्नि ?’

म सहज भावमा बोलें– ‘खास त्यस्तो केही छैन।’ तर मैले बोल्नु के थियो, मेरो बोलीसँगै प्रसंग पूरै आफूतिर मोडे उनले– ‘अहिले एउटा दर्शनको किताब पढ्दै छु मित्र।’ म अवाक् ! उनको अभिव्यक्तिपश्चात् चुपचाप उसलाई सुनिरहनुको अलावा मसँग अर्को विकल्प थिएन। त्यो यसकारण पनि कि मलाई थाहा भइसकेको थियो, मेरो खबर बुझ्ने बहानामा उनी अब आफ्ना बखान गाउन सुरु गर्नेछन्।

साँच्चै, सुरु भइसकेका थिए उनी– ‘हेर्नोस् मित्र ! दर्शनका धेरै किताबहरू पढें... धेरै भनेर यो शब्दको अपमान पनि किन गर्नु ? संसारमा प्रतिपादित लगभग सबै दर्शन पढिसकेको छु मैले। पढिसकेको मात्रै होइन, तिनको अध्ययन गरेर भित्र–भित्रको एक–एक केस्रा केलाएको छु। तर यो दर्शन यस्तो छ कि मान्छे को हो, कस्तो हुन्छ भन्ने छर्लंग बुझाउँछ। मान्छे एउटा त्यस्तो प्राणी हो; जो सर्वथा भिन्न हुन्छ। जसको मन सफा छ, कपट छैन, कुनै जालझेल–तिकडम गर्दैन, अर्काको कुभलो चिताउँदैन, कहिल्यै अभिमान गर्दैन, जसको विचार सधैं उच्च र स्वच्छ छ; ऊ नै मान्छे हो। जस्तो कि, म..’ उनले वाक्य बीचमै छाडेर मतर्फ मुखरित भए। तर म अझै पनि जानानानी मौन थिएँ।

मबाट कुनै प्रतिक्रिया नपाएपछि उनी स्वयं उपदेशको भाखामा दार्शनिक व्याख्यान छाँट्न लागे। यस्तो लाग्थ्यो, मानौं उनी स्वयं दार्शनिक भइसकेका छन्। दार्शनिक पनि सानातिनो हो र ! इतिहासमा नभएका। यस्ता दार्शनिकलाई बीचमै कुनै प्रतिक्रिया दिनु भनेको थप समय उनीसँग अलमलिनु थियो। मलाई ऊसँग अलमलिएर समय फाल्नु थिएन, उनीबाट छिटो छुट्कारा पाउनु थियो। तर उनले छुट्टिने नामै लिएनन्। अनेक कुरा गर्दै, त्यसमा आकाश–पातालका तर्क गर्न लागे। मलाई त्यसै के छुट्टिन दिन्थे !

धेरैबेरको प्रवचनपश्चात् उनी अलिक थाकेजस्तो देखिए र अन्ततः चुप पनि भए। भित्रभित्रै रमाएँ म, यस्तालाई ठीक गर्ने नबोलेरै हो। उनले पनि मेरो भाव बुझे क्यार ! ‘ल त मित्र ! अहिले लागौं !’ अचानकै मलाई गम्लङ्ग अँगालो हालिहाले। अप्रत्याशित उनको अँगालोबाट म हतप्रभ भएँ। र, मैले छुट्टिने प्रयत्न गरें। तर यसो गर्दागर्दै उनको कोटको भित्री खल्तीमा मेरा आँखाले यस्सो चियाउन पुगे। ओहो, यो के ? कोटको भित्री खल्तीमा एउटा छुरा ! तत्कालै मैलै आफूलाई जबरजस्ती उनको अँगालोबाट पन्साएँ।

उनी फेरि मेरो नजिक आएर मलाई अंकमाल गर्न खोजे। मैले उनीबाट भाग्ने कोसिस गरें। तर व्यर्थ ! उनले मलाई च्याप्प पक्रे। र, मेरो हातमा हात मिलाउन खोजे। मलाई डर लागिसकेको थियो, अब मैले उनीसँग हात मिलाउनु हुँदैन। किनकि मलाई थाहा थियो– उनीसँग हात मिलाएँ भने पक्कै पनि मेरो हत्केला फेरि बिझाउनेछ– च्वास्स... च्वास्स...।

मनको बाटो भएर

घस्रँदै छातीमाथि

अचानक

देखापर्‍यो अनुहारमा एउटा अजिङ्गर।

 

आँखाबाट, निधारबाट, मुखबाट,

एकसाथ

अजिङ्गरले मुस्कान फ्याँक्यो

र, आफ्नो दाहिने हात झिक्यो खोकिलाबाट–

हैल्लो, के छ हालखबर ?

अजिङ्गरको हातले

मेरो हातसँग हात मिलायो।

 

खुसीले पुलकित

रोमाञ्चित आफ्नो हात हेरें मैले

तर चस्... चस्...

काँडा छ कि कतै

बिझायो हत्केला, असाध्यै बिझायो।

 

मेरो हत्केलाको घाउबाट

हाँसिरहेथ्यो मित्र अजिङ्गर।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया