header 2

सन्दीप बने टी-२० मा सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडी

Sagar Adhikari
सन्दीप बने टी-२० मा सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडी
Sagar Adhikari

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले टी-२० मा आफ्नो सय खेल पूरा गरेका छन्।

बिहीबार त्रिकोणात्मक सिरिजअन्तर्गत मलेसियाविरूद्धको खेलमार्फत सन्दीपले टी-२० मा सय खेल पूरा गरेका हुन्।

योसँगै सन्दीप नेपालका लागि सय टी-२० खेल्ने पहिलो खेलाडी बनेका छन्। 

टेस्ट राष्ट्रको फ्रेञ्चाइज टी-२० लिगका खेल र टी-२० अन्तर्राष्ट्रिय खेललाई टी-२० को मान्यता हुन्छ। 

बिहीबार मलेसियाविरूद्धको खेल सन्दीपको २५ औं टी-२० अन्तर्राष्ट्रिय खेल हो। सन्दीपले टेस्ट राष्ट्रका फ्रेञ्चाइज लिगबाट ७५ टी-२० खेल खेलेका छन्।  

सन्दीप पछि नेपालका लागि सर्वाधिक टी-२० खेल्ने अलराउन्डर पारस खड्का हुन्। पारसले ५६ टी-२० खेलेका छन्।

सन्दीपले २४ टी-२० अन्तर्राष्ट्रिय खेल नेपाली राष्ट्रिय टिमबाट खेलेका छन्। एक खेल भने उनले विश्व-११ टिमबाट खेलेका थिए।

सन् २०१८ मे ३१ मा वेस्ट इन्डिज र विश्व ११ टिमबीच भएको खेललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता थियो। विश्व-११ टिममा सन्दीप टिममा समावेश थिए। 

सोही खेलबाट सन्दीपले टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए। सन्दीप राष्ट्रिय टिमबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यू नगर्ने पहिलो नेपाली खेलाडी हुन्। डेब्यू टी-२० अन्तर्राष्ट्रिय खेलमा सन्दीपले एक ओभर मात्र बलिङ गरेका थिए भने विकेट लिन सकेका थिएनन्। 

फ्रेञ्चाइज लिगको टी-२० मा डेब्यू भने सन्दीपले आइपिएल टिम दिल्ली क्यापिटल्सबाट गरेका थिए।

सन् २०१८ मे १२ मा रोयल च्यालेन्जर्स बेंग्लोरविरूद्ध खेल्दै उनले टी-२० मा डेब्यू गरेका थिए। सो खेलमा उनले ४ ओभर बलिङ गर्दा २५ रन खर्चिएर १ विकेट लिएका थिए। भारतीय लिग खेलेपछि उनले टेस्ट टिमहरू वेस्ट इन्डिज, बंगलादेश, पाकिस्तान, अफगानिस्तान र अस्ट्रेलियाका फ्रेञ्चाइज लिगबाट टी-२० खेले। 

टेस्ट टिमबाहेक सन्दीपले हङकङ, युएई र क्यानडाको फ्रेञ्चाइज लिग पनि खेलेका छन्। यी लिगलाई भने टी-२० को मान्यता छैन। 

तीन वर्षको अवधिमा सय टी-२० खेल पूरा गरेका सन्दीपले टी-२० मा आफ्नो विकेट संख्या १३३ पुर्‍याइसकेका छन्।

सन्दीपले गत वर्ष टी-२० मा आफ्नो विकेट संख्या सय पूर्‍याएका थिए। जससँगै उनी नेपालका लागि टी-२० मा सय विकेट लिने पहिलो खेलाडी बनेका थिए। 

सन्दीपले टी-२० लिएका विकेटमध्ये ४२ विकेट राष्ट्रिय टिमबाट लिएका छन्। उनी नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा छन्।

नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका करण केसीले ४१ विकेट लिएका छन्।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया