header 2

'गहुँ लगाए एक मुरी फल्छ, आलु लगाए त्यही जग्गाबाट १८ हजार कमाइ हुन्छ'

Sagar Adhikari
'गहुँ लगाए एक मुरी फल्छ, आलु लगाए त्यही जग्गाबाट १८ हजार कमाइ हुन्छ'
Sagar Adhikari

दैलेखको गुराँस गाउँपालिकामा धेरैजसोले गहुँ, मकै, कोदो, मसुरोजस्ता परम्परागत अन्न उत्पादन गर्दै आएका थिए।

ती अन्नको न बजार हुन्थ्यो न राम्रो मूल्य नै।

अहिले गाउँपालिकाका दुई गाउँमा किसानहरू परम्परागत खेती छोडेर व्यवसायिक तरकारी खेतीमा होमिएका छन्।

उनीहरूले आलु, केराउ, बन्दा, काउलीलगायत तरकारी बाली लगाउने गरेका छन्।

परम्परागत खेतीबाट जीविकोपार्जन गर्नसमेत धौ-धौ भएका आफूहरूलाई पछिल्लो समय व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेपछि सहज भएको किसानहरू बताउँछन्।

गुराँस गाउँपालिका-३ सानो दमारकी धनीकुमारी शाही स्थानीय ‘सरस्वती ताजा तरकारी कृषि समूह’ मा आवद्ध छिन्। एक वर्षअघि मात्र समूहमा आवद्ध भएकी धनीकुमारीले ६ वर्ष अघिदेखि नै तरकारी खेती गर्न थालेकी थिइन्।

व्यावसायिक रूपमा तरकारी खेती गर्नुअघि उनको बारीमा गहुँ, मकै, कोदो, मसुरोजस्ता परम्परागत खेती गरिन्थ्यो। जसले आर्थिक रूपमा उनलाई केही फाइदा हुँदैनथ्यो।

अहिले उनको बारीमा उत्पादन हुने तरकारीबाट वार्षिक ५–६ लाख रुपैयाँ आम्दानी हुन्छ।

‘लामै समयसम्म पुराना बाली लगायौं, ६ वर्ष जति भयो तरकारी खेती गर्न थालोको,’ धनीकुमारीले भनिन्, ‘पहिले लगाउने मकै, गुहँ, तोरी, मसुरोभन्दा त अहिले तरकारी खेतीबाट धेरै नै फाइदा भएको छ।’

अहिले विशेषगरी बारीमा आलुखेती गर्ने गरिएको उनले बताइन्। आलुसँगै केराउ, बन्दा, काउली, टमाटरलगायत बाली पनि लगाउने गरिएको छ।

चैत/वैशाखमा लगाइने आलुको सिजन सकिएपछि केराउ खेती गर्ने गरिएको उनले बताइन्।

‘पहिला एउटा गह्रामा गहुँ लगाउँदा दुई/तीन पाथी जति उब्जनी हुन्थ्यो, त्यसले त केही मूल्य नै पाउँदैन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यही गह्रामा तरकारी लगाउने भने ७/८ हजार रुपैयाँ कमाइ हुन्छ।’

उनको २९ रोपनी जग्गा छ। त्यो जग्गामा चैतमा आलु खेती गरी साउनमा त्यो आलु खन्ने काम हुन्छ। आलु खनिसकेपछि केराउ, काउली, बन्दा लगायतका तरकारी लगाइन्छ।

उनको बारीमा लगाउने जातको आलुको मूल्य बढीमा प्रतिकिलो ८० रुपैयाँसम्म पुगेको हुन्छ। तर धनीकुमारीको परिवारले भने २८-३० रुपैयाँ हुँदा नै बिक्री गर्नुपर्छ। किन भने उनको घरमा लामो समयसम्म स्टोर गर्ने ठाउँ छैन।

उनको गाउँमा परम्परागत खेती छोडेर तरकारी खेती गरिरहेका अरू पनि थुप्रै किसान छन्। सरस्वती ताजा तरकारी कृषि समूहमा आवद्ध ३५ जना कृषकहरूले तरकारी खेती गर्न परम्परागत खेती छोडेका छन्।

‘एक मुरी गहुँ फल्ने ठाउँमा ६ क्विन्टल आलु फल्छ, त्यसलाई ३० रुपैयाँ किलोको दरमै बेच्न पाए पनि १८ हजार रुपैयाँ कमाइ हुन्छ,’ सरस्वती ताजा तरकारी कृषि समूहका अध्यक्षसमेत रहेका कृषक शिवध्वज शाहीले भने, ‘एक मुरी गहुँले ४ हजार रुपैयाँ पनि मुल्य पाउँदैन, हामीले परम्परागत खेती यसकारण पनि छोडेका हौं।’

शाहीले आफ्नो २१ रोपनी जग्गामा तरकारी खेती गर्ने गरेका छन्। उनले पनि अरू कृषकजस्तै मुख्य गरी आलु खेती गर्ने गर्छन्।

‘परम्परागत खेतीले खान-लगाउनमात्र पुग्ने अवस्था थियो, अहिले तरकारी खेती गर्न थालेपछि छोराछोरी पढाउन र थोरै बचत गर्न पनि पुगेको छ,’ उनले भने।

शाहीका अनुसार सानो दमार गाउँभित्र १४० रोपनी जग्गामा कृषकले परम्परागत खेती छोडेर तरकारी खेती गरिरहेका छन्।

गुराँस गाउँपालिका-५ बुबैराखे गाउँका धनबहादुर बुढाले यो सिजनका लागि २५ क्विन्टल आलुको बिउ रोपेका छन्। यो सिजनमा मात्र कम्तिमा २०० क्वीन्टल आलु उत्पादन गर्ने लक्ष्य उनको छ।

उक्त गाउँमा ‘आलु जोन’ नै सञ्चालन गरिएको छ। गाउँको हरियाली कृषि तथा बिउ आलु उत्पादन समूहका अध्यक्षसमेत रहेका बुढाले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको ४ वर्ष भयो।

‘पहिले हामीले परम्परागत रूपमा तरकारीसँगै अन्य खेती पनि गरिरहेका थियौं, त्यो घर धान्नका लागि मात्र थियो,’ उनले भने ‘पछिल्लो समय व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको छौं, विशेषत: आलु खेती गर्छौं। त्यसको सिजन सकिएपछि केराउ खेती गर्ने गरेका छौं।’

गाउँमा आलु नै बढी उत्पादन हुने क्षेत्र भएकाले पनि व्यावसायिक रूपमा आलु खेती गर्न सहज भएको उनले बताए। पहिला लगाइने परम्परागत खेतीले जीवन धान्नसमेत धौ-धौ भएपछि गाउँका मानिस व्यावसायिक रूपमा तरकारी खेतीतर्फ लागेको उनले बताए।

हरियाली कृषि तथा बिउ आलु उत्पादन समूहमा ३५ जना कृषक छन्। सबैले व्यावसायिक रूपमै तरकारी खेती गरिरहेका छन्। बुढाका अनुसार समूहका सदस्यहरूले यो सिजनका लागि कम्तिमा १०० क्वीन्टल आलुको बिउ रोपेका छन्।

गाउँका कृषकहरुले आलु खेतीबाट मात्र वार्षिक २ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। त्यसबाहेक अरू तरकारीबाट पनि २ लाखसम्म आम्दानी हुन्छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बुवैराखेमा सञ्चालित आलु जोन सञ्चालन समितिका अध्यक्ष रवीन्द्रकुमार चन्दका अनुसार गाउँमा ५ सय रोपनीभन्दा धेरै जमिनमा व्यावसायिक तरकारी खेती गर्ने गरिएको छ।

परियोजनाको सहयोगमा सञ्चालक समितिबाट तरकारी राख्न मिल्ने कोल्ड स्टोर निर्माण, आधुनिक कृषिका लागि मेसिन/औजारहरू कृषकका लागि सहयोग गर्ने गरिएको उनले बताए।

पहिले गहुँ खेती गरेर जिविकोपार्जन समेत गर्न समस्या भएका गाउँका कृषक पछिल्लो समय व्यावसायिक आलु खेतीबाट आत्मनिर्भर हुने गरेको उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि ती किसानहरूलाई व्यावसायिक तरकारी खेती गर्न सहयोग गरिरहेको छ। विशेषगरी यो परियोजनाले आलु उत्पादन र स्टोर गर्न ५० प्रतिशत अनुदान दिने गरेको छ।

आर्थिक वर्ष २०७५/०७६ देखि दैलेखमा सुरू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषितर्फ तीन वटा जोन (आलु जोन, सुन्तला जोन र बाख्रा जोन) सञ्चालनमा सहयोग गरिरहेको छ।

जिल्लाको भैरवी गाउँपालिका र दुल्लु नगरपालिकामा सुन्तला जोन सञ्चालन भइरहेको छ।

बाख्रा जोन नारायण नगरपालिकाको ४ र १०, महाबु गाउँपालिकाको ३, ४, ५ र ६ नम्बर वडा, भैरवी गाउँपालिकाका ६ र ७, चामुण्डाविन्द्रासैनी नगरपालिकाको १, २, र ३ नम्बर वडामा सञ्चालन भइरहेको छ।

यस्तै डुंगेश्वर गाउँपालिकाको २, ३ र ५ नम्बर वडामा र गुराँस गाउँपालिकको ३ देखि ८ नम्बर वडासम्म ‘आलु जोन’ सञ्चालन गरिएको परियोजनाका दैलेख प्रमुख राजु भुजले जानकारी दिए।

विभिन्न जोनअन्तर्गत व्यावसायिक कृषि गर्ने कृषकलाई परियोजनाले ५० प्रतिशत अनुदान दिने गरेको छ । यस्तै आवश्यक औजार तथा मेसिन पनि अनुदानमा उपलब्ध गराउने गरिएको उनले बताए।

कृषकलाई आम्दानीमूलक व्यवसायिक खेतीका लागि प्रोत्साहनसँगै सहयोग गर्न परियोजनाले प्रयास गरिरहेको प्रमुख भुजले बताए।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया