header 2

ओलीलाई विश्वप्रकाशको जवाफ : ‘विभाजित भएको कम्युनिष्ट पार्टी हरियो रङसँग पनि तर्सिन्छ’

Sagar Adhikari
ओलीलाई विश्वप्रकाशको जवाफ : ‘विभाजित भएको कम्युनिष्ट पार्टी हरियो रङसँग पनि तर्सिन्छ’
Sagar Adhikari

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्ट पार्टीहरू कमजोर भएपछि हरियो रङसँग पनि तर्सिन थालेको बताएका छन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मतपत्रमा हरियो रङको चुनाव चिन्ह बनाउने निर्णयप्रति आपत्ति जनाएपछि शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । रातोपाटीसँग कुरा गर्दै महामन्त्री शर्माले मतपत्र, चुनाव चिन्ह कस्तो बनाउने भन्ने कुरा निर्वाचन आयोगको अधिकारको कुरा भएको उल्लेख गरे । सो विषय राजनीतिक दलको अधिकारको विषय नभएको उनले बताए ।

एमाले अध्यक्ष ओलीलाई उखानमै जवाफ फर्काउँदै महामन्त्री शर्माले भने– ‘कमरेड केपी ओलीलाई मेरो भनाई के छ भने रङसँग डराउनुपर्दैन ढंग सच्याए हुन्छ । हरियो राख्ने कि निलो पहेँलो राख्ने कि बैजनी रङ राख्ने कि त्यो निर्वाचन आयोगको कुरा हो । हरियो रङसँग नै डराउने हैन सिद्धान्त र विचारसँग बहस गर्नुपर्छ । हरियो रङबाट तर्सिनु हुन्न । ‘पार्टी विभाजित भएको कम्युनिष्ट पार्टी हरियो रङसँग पनि तर्सिन्छ’ भन्ने नयाँ उखान बनाउन भएन ।’ 

उनले विचार सिद्धान्तमा बहस गर्नुपर्ने कुरामा जोड दिए । शर्माले भने– ‘काँग्रेसको चुनाव चिन्ह चिन्ह हरियो नै हुन्छ । रुख पनि हरियो नै हुन्छ । हरियो नराख भन्नेहरु हरियोबाट डराउन भएन । आफ्नो ढंग सच्याउन र रङसँग नडराउ भन्न चाहन्छु ।’ 

मंगलबार एमाले अध्यक्ष ओलीले हरियो रंगको चुनाव चिन्ह एमालेलाई स्वीकार्य नहुने र त्यसबारे आफूले निर्वाचन आयोगसँग पनि कुरा गर्ने बताएका थिए । मतपत्रमा हरियो चिन्ह बनाउने निर्णय गरेर आयोग पनि एमालेको विरुद्धमा गएको आरोप लगाएका थिए । 

काँग्रेस महामन्त्री शर्माले ओलीलाई सम्बोधन गर्दै भने– ‘कमरेड केपी शर्माओली उखान टुक्कामा माहिर हुनुहुन्छ ।  विभाजित भएको कम्युनिष्ट पार्टी हरियो रङसँग पनि तर्सिन्छ भनेर उहाँ अर्को उखान जन्माउन खोज्दै हुनुहुन्छ । उहाँलाई हरियो रङको आलोचना नगर्न म सुझाव दिन चाहन्छु । हरियो रङमाथि प्रश्न उठाउने हो भने हरियो भन्ने सबै कुरा छोड्नुपर्यो  । कि हरियो सागपातमाथि पनि प्रश्न उठाउने हो भोलि ? हरियो सागपात घरभित्र छिर्यो भने काँग्रेस आयो भन्ने भए अब । त्यसकारण विचारको बहस गर्नु, सिद्धान्तको बहस गर्नु राम्रो हुन्छ । कस्तो मतपत्र बनाउने, कस्तो रङ राख्ने भन्ने कुरा त निर्वाचन आयोगको स्वतन्त्रताको विषय हो ।’

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया