header 2

शासन विधि र पद्धतिमा आधारित भएर चल्नुपर्नेमा नेता सिंहको जोड

Sagar Adhikari
शासन विधि र पद्धतिमा आधारित भएर चल्नुपर्नेमा नेता सिंहको जोड
Sagar Adhikari



साउन-२७,काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शासन विधि र पद्धतिमा आधारित भएर चल्नुपर्ने बताएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशलटारको भवन आज उद्घाटन गर्दै नेता सिंहले आफ्नो व्यक्तिगत, दलगत र समूहगत स्वार्थभन्दा माथि उठेर कानुन, विधि र पद्धतिमा रहेर शासन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।  

उनले सरकारले कोरोनाविरुद्धको खोप सँगसँगै भ्रष्टाचार नियन्त्रणमा पनि जोड दिनुपर्ने बताए। उनले भने, “भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । नाराले होइन कामले गरेर देखाउनुपर्छ । जिम्मेवार पदमा बसेकाले पहिला सुरुआत गर्नुपर्छ ।” उनले जनप्रतिनिधिले जनतालाई केन्द्रबिन्दुमा राखेर कार्य गर्नुपर्ने सुझाव दिए । उनले भने, “जनप्रतिनिधिले जनतालाई विश्वासघात गर्नुहुन्न । जनता नै सर्वोपरि हो भन्ने ध्यान दिनुपर्छ ।”

उनले जनप्रतिनिधि साझा व्यक्तित्व भएकाले दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा समेत जोड दिए । “जनप्रतिनिधिले दलगत स्वार्थ त्यागेर काम गर्नुपर्छ । निर्वाचनमा दलको घोषणापत्र र चुनाव चिह्न लिएर निर्वाचन जानु प्रजातान्त्रिक प्रक्रिया हो तर निर्वाचित भई सकेपछि जनताको प्रतिनिधिका रुपमा अघि बढ्नुपर्छ । दलगत स्वार्थले काम गर्नुहुन्न”, उनले भने । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सम्पदा संरक्षणमा नगरपालिकाले विशेष जोड दिए पनि नगरको सडक, ढल, सरसफाइ र व्यवस्थित बसोबासमा पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनले भने, “नगरपालिकाको नाराअनुसार सम्पदा संरक्षणको काम अघि बढेको छ । यसले बढी चर्चा पाएकाले नगरपालिकाले सम्पदा संरक्षणको मात्रै काम गरेको हो कि भन्ने बुझाइ पनि छ तर नगरपालिकाले ढल, सडक र सरसफाइमा समेत विशेष प्राथमिकता राखेर बजेट विनियोजन गरेको छ ।” नेपाली कांग्रेसका नेता एवं मध्यपुरथिमि नगरप्रमुखका प्रत्याशी अष्ट कवेले नगरपालिकाले मध्यपुर थिमिका जनतालाई प्रमुख प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप व्यवस्थापनमा थप जोड दिनुपर्ने सुझाव दिए । नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले नगरका पुराना बस्तीमा मौलिक शैलीको संरक्षणका लागि बाटोमा ढुङ्गा छाप्ने कार्य अघि बढाएको र नयाँ बस्ती क्षेत्रमा सडकलाई कालोपत्र गर्ने कार्य अघि बढाएको जानकारी दिए ।

वडा नं २ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राम थापा मगरले नगरका ४ र ८ बाहेकका वडाको भवन निर्माण कार्य अघि बढाइए पनि विविध कारणले केही वडा भवनको काममा ढिलाइ भइरहेको जानकारी दिए । वडा नं ३ का वडाध्यक्ष प्रेमबहादुर कुटुले वडाको सुविधासम्पन्न नयाँ भवनबाट जनतालाई छिटोछरितो र सरलरुपमा सेवा उपलब्ध गराउन वडा कार्यालयलाई थप प्रविधिमैत्री बनाइने जानकारी दिए ।   

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया