texas above the header

ब्रोडगेज प्रविधिमै बन्ने भयो काठमाडौं–रक्सौल रेलमार्ग

(एमओयूअनुसार रेलमार्गको डीपीआर भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गर्नेछ )

काठमाडौं । काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नेपाल र भारतबीच केही हप्तामै समझदारीपत्र (एमओयू) हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुका अनुसार एमओयूको अन्तिम मस्यौदा तयार भएको छ । मन्त्रिपरिषदले स्वीकृति दिएपछि भारतसँग

औपचारिक रुपमा एमओयू हुनेछ । 

प्रस्तावित एमओयूअनुसार रेलमार्गको डीपीआर भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गर्नेछ र, ब्रोडगेज प्रविधिमै यो रेलमार्ग बनाइनेछ ।सरकारले देशभर बन्ने रेल्वे लाइन स्टान्डर्ड गेजमा बनाउने नीति लिएको छ । काठमाडौं–रक्सौल रेलमार्ग पनि स्टान्डर्ड गेजमै बनाउन उपयुक्त हुने विज्ञहरुको सुझाव छ । 

तर, भारतले स्टान्डर्ड गेज प्रविधि र प्राविधिक विज्ञता आफूसँग नभएको भन्दै रक्सोल–काठमाडौं रेलमार्ग ब्रोडगेज प्रविधिमा बनाउनुपर्ने अडान लिएको थियो । नेपालले स्टान्डर्ड गेजमा आधारित भएर डीपीआर गर्न अनुरोध गरेपनि भारत तयार नभएको भौतिक पूर्वाधार मन्त्रालय स्रोतले बताएको छ । ‘आफूसँग हुँदै नभएको प्रविधिमा कसरी डीपीआर गर्ने भनेर भारतीय पक्ष तयार भएन’ स्रोत भन्छन्, ‘अब ब्रोडगेजमै एमओयू गर्ने प्रक्रिया अघि बढाएका छौं ।’मन्त्रिपरिषदबाट स्वीकृति लिएर एमओयूमा हस्ताक्षर भएपछि भारतीय पक्ष नापजाँचका लागि फिल्डमा आउनेछ । भारतीय कम्पनी कोंकण रेल–वे कर्पोरेसन लिमिटेड (केआरसीएल)ले आफैंले गरेको प्रारम्भिक अध्ययनका आधारमा डीपीआर तयार गर्ने छ ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया