texas above the header

टुकी र म

कवि: किशन जंग कुँवर

म मेरो काेठाकाे टुकी हेर्छु काेल्टे फेर्छु,
ओल्टे फेर्छु फेरि त्यसैलाई टुल्टुल्ति हेर्छु ।।
उसमा एक किसिमको चमक छ,
जुन ममा छैन
ममा एक किसिमको आत्तुरी छ,
जुन उसमा छैन ।

एका बिहानै म उसमा प्राण भर्छु,
एक लामाे सासकाे धुँवा उडाउँछ तर बाेल्दैन !
यदि ऊ मानव भए कति फत्फताउँथ्याे

हाेला,  के गरिराछस्? किन बाल्दैनस्?
मेराे कार्य देखे तापनि अनायासै साेध्थ्याे हाेला,
अहँ ! ऊ मलाई टुलुटुलु हेर्नै व्यस्त छ
मेरा लागि प्रकाश खुरुखुरु छर्नै व्यस्त छ
आज उसकाे पेट मट्टितेलले टन्न छ,
हिजाे उसकाे त्यही पेट हावाले टम्म थ्याे ।
न त आज पूरा पेटमा मातेकाे छ,
न त हिजाे खाली पेटमा मागेको थ्याे ।।

मेरा केटाकेटी हुन्थे त,
हिजाे आधा पेटमा खाना माग्दै आत्तिरहन्थे,
आज फेरि खाली पेटमा खान्न भन्दै मात्तिरहन्थे
तर मेराे खाेपीवालामा न भाेक छ ।
न त इन्धन अभावकाे शाेक छ ।।

यस कविताले ट्रोल काभ्रे, नेपाल पोयट्री र नेपाल साहित्यिक संस्थाको संयुक्त रुपमा आयोजना गरिएको कविता कम्पटीसनमा तेस्रो स्थान प्राप्त गरेको थियो।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया