texas above the header

दुई खर्बले घट्यो आयात, निर्यातमा भने ०.१९ प्रतिशतको वृद्धि

फायरवर्ड संवाददाता
काठमाडौं,१६ असार   

कोभिड–१९ सङ्क्रमणका कारण विश्व व्यापारमा आएको गिरावट नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पनि देखिएको छ। चालू आर्थिक वर्षको जेठ महिनासम्मको भन्सार विभागको तथ्याङ्कअनुसार समग्र अन्तर्राष्ट्रिय व्यापारमा करिब दुई खर्ब रुपियाँको गिरावट देखिएको छ।                              

कुल आयात अघिल्लो आवको जेठको तुलनामा एक खर्ब ९९ अर्ब रुपियाँले घटेर ११ खर्ब ८१ करोड रुपियाँ पुगेको छ। अघिल्लो जेठमा नेपालले १२ खर्ब ९९ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो। तुलनात्मक रूपमा चालू आवको आयात १५.३१ प्रतिशतले घटेको देखिन्छ।

जेठसम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार ११ अर्ब ८८ करोड रुपियाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा करिब दुई खर्ब रुपियाँले कम हो । गत जेठमा नेपालको कुल अन्तर्राष्ट्रिन्य व्यापार १३ खर्ब ८७ अर्ब रुपियाँ पुगेको थियो। आयातमा भएको कमीले अन्तर्राष्ट्रिय व्यापारको आकार मात्र होइन, नेपालको व्यापार घाटामा पनि समानान्तर रूपमै घटेको छ। जेठसम्म नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब एक अर्ब रुपियाँले घटेर १० खर्ब १२ रुपियाँ पुगेको छ। अघिल्लो जेठमा व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपियाँ पुगेको थियो।

यसबीचमा नेपालको निर्यात वृद्धि भने करिब उस्तै रहेको छ । चालू आवको सुरुवातमा निर्यातमा उत्साहजनक परिस्थिति देखिएकोमा जेठसम्म आइपुग्दा निर्यात वृद्धिदर स्थिर जस्तै छ। नेपालले चालू आवको समीक्षा अवधिसम्म ८८ अर्ब रुपियाँको वस्तु निर्यात गरेको छ, जबकी गत वर्षको जेठमा ८७ अर्ब ८३ करोड रुपियाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । यो ०.१९ प्रतिशतको वृद्धिदर हो। आयात घट्दा कुल व्यापारमा यसको हिस्सा घटेर ९२.६० प्रतिशत पुगेको छ। अघिल्लो जेठसम्म आयातको हिस्सा ९३.६७ प्रतिशत थियो। निर्यातको हिस्सा १६.९५ प्रतिशतले बढेर ७.४० प्रतिशत कायम भएको छ।

व्यापारिक साझेदारका रूपमा सधैं जस्तै छिमेकी मुलुक भारत पहिलो स्थानमा छ। यसबीचमा नेपालले भारतबाट छ खर्ब ७० अर्ब रुपियाँको वस्तु आयात गरेको छ भने ६२ अर्ब ९५ करोड रुपियाँको वस्तु निर्यात गरेको छ। दोस्रोमा चीन छ। जहाँबाट नेपालले एक खर्ब ६९ अर्ब रुपियाँको आयात गरेको छ भने एक अर्ब १३ करोड रुपियाँको निर्यात गरेको छ । तेस्रोमा रहेको इन्डोनेसियाबाट करिब ३० अर्बको आयात हुँदा १२ करोड ३० लाख रुपियाँको मात्र निर्यात भएको छ। चौथोमा रहेको अमेरिकाबाट २२ अर्ब १४ करोड र पाँचौँ स्थानमा रहेको संयुक्त अरब इमिरेट्सबाट १७ अर्ब ६७ करोड रुपियाँको आयात भएको छ। यी मुलुकमा नेपालले क्रमशः आठ अर्ब ३८ करोड र २१ करोड ७५ लाख रुपियाँको वस्तु निर्यात गरेको छ।

 

जेठसम्म नेपालले सबैभन्दा धेरै ७८ अर्ब २१ करोड रुपियाँको डिजेल आयात गरेको छ। त्यसपछि ३८ अर्बको फलाम तथा स्टिल, करिब २८ अर्बको एलपी ग्यास, २६ अर्ब ५४ करोडको पेट्रोल र १८ अर्ब ५१ करोड रुपियाँको चामल आयात गरेको छ। निर्यात भएका वस्तुमध्ये सबैभन्दा धेरै १८ अर्ब ३१ करोड रुपियाँको पाम तेल छ। त्यसपछि सोयाबिन तेल १० अर्ब १२ करोड रुपियाँको निर्यात भएको छ। गलैँचा, ऊनी कपडा, जुस, जुट, अलैँचीजस्ता वस्तु नेपालबाट धेरै निर्यात हुने वस्तुमा परेका छन्।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया