grafias

युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड बजेट विनियोजन

चालु आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेटमा भारी कटौती भएको छ । अर्थमन्त्री युवराज खतिवाडाले बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँं विनियोजन गरेको बताएका छन् ।

 

चालु आर्थिक वर्षमा मन्त्रालयका लागि

३ अर्ब ९९ करोड विनियोजना गरिएको थियो । त्यसअर्थ आगमी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयको बजेट चालु आर्थिक वर्षको भन्दा १ अर्ब ६३ करोड रुपैयाँ कटौैती भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बजेट उत्साहजन भएको बताएका छन् ।

‘छलफलको क्रममा १ अर्ब ६१ करोड रुपैयाँ भन्ने थियो अहिले बढेर आएको छ । बजेटमा खेलकुदलाई प्राथमिकतामा राखिने भनिएको छ । भौतिक पूर्वाधार निर्माणका लागि सरकारबाट सधै सहयोग नै हुँदै आएको छ,’ सचिव थपलियाले भने, ‘कार्यान्वयमा जाँदा रकम नपुग भएमा सरकारबाट थपिदै आएको उदाहारण छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उदाहरण लिन सक्नुहुन्छ ।’ सचिव थपलियका अनुसार मन्त्रालयका लागि विनियोजित बजेटको झन्डै ८० प्रतिशत खेलकुदमा खर्च हुनेछ ।

मन्त्रालयका लागि विनियोजित रकमको ठूलो हिस्सा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत खर्च हुनेछ । जसका सदस्य सचिव रमेशकुमार सिलवाल भने बजेटलाई मिश्रित रुपमा लिएका छन् । ‘बजेटलाई मैले दुईवटा पक्षबाट हेरेको छु । सैद्धान्तिक रुपमा बजेटमा समेटिएका विषय भौतिक पूर्वाधार, प्रशिक्षक, प्रतियोगिता सबै तहमा भन्ने विषय उल्लेख छन्,’ उनले भने, ‘तर, त्यसलाई कार्यान्वयन गर्नका लागि बजेटको रकम भने अपुग देखिन्छ । त्यसैले यसलाई मैले मिश्रित रुपमा लिएका छु । ‘

सिलवालले सागका लागि गत वर्ष बजेटमा ५० लाख रुपैयाँ मात्र विनियोजन गरेको स्मरण गर्दै सरकारले चाहेको खण्डमा कार्यक्रम हेरेर पछि बजेट थप गर्दिएको उदाहारण रहेको बताए । ‘साग र खेलकुदका अन्य पूर्वाधार निर्माणका लागि पनि हामीले पछि बजेट पाएका छौं,’ उनले थपे, ‘त्यसअर्थ हामीले पछि पाउने सम्भावना पनि रहन्छ । रातो किताब आइसकेपछि बजेटका बारेमा अझै थप प्रष्ट हुनेछ ।’

खेलकुद मार्फत मुलुकको पहिचान र प्रतिष्ठाको लागि खेलकुद क्षेत्रको समग्र बिकास अघि बढाउन संघ प्रदेश र स्थानिय तहको सहकार्यमा खेलकुद पुर्वाधारको निर्माण, प्रतियोगिता आयोजना र प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिनेछ ।

निर्माणधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा अन्य क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसरको निर्माण एवम् अन्य प्रादेशिक रंगशाला निर्माण शुरु गर्न आवश्यक रकम विनियोजन गरेको छु । सबै स्थानिय तहमा खेलग्रामको बिकास गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय पुर्वाधार निर्माण र व्यवस्थापनका लागि रकम विनियोजन गरेको छु । खेलकुद पुर्वधारको कमी भएको कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुन सक्ने गरी खेलकुद पुर्वाधार बिकास गर्न, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न र थप कभर्ड हल निर्माण गर्न बजेट व्यवस्था गरेको छु । युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन गरेको छु ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया